बिहिबार, मंसिर १८, २०७७
Thursday, December 3, 2020

कोरोना भाइरसको आकार कति सूक्ष्म छ?

काठमाण्डौः कोरोना भाइरसको आकार कति सूक्ष्म छ भने एक मिलिमिटरको दस हजार भाग लगाउँदा एक भाग जति पनि यो छैन। यति सानो जीवाणुले अत्याधुनिक र अति विकसित देशका मानिसहरूलाई समेत त्राहि त्राहि बनाएको छ।’सामान्य आँखाले देख्न समेत नसकिने भाइरसको त्रासले लोक भयाक्रान्त छ यतिखेर। डाक्टर, अनुसन्धाता कोरोना नामको यो जीवाणु मार्ने औषधि बनाउन जुटेका छन्, सरकार यसलाई फैलन नदिन उपाय गर्दैछ। मुखौटो बेच्ने पसलेलाई भने अर्थोककै चासो छ– जसरी हुन्छ यही मौकामा रातारात लखपति हुन सकियोस्। यो आलेख कालो व्यापारका बारेमा भने होइन। कालो व्यापार समाजको आम चरित्र जस्तै भएको छ। बाहना पाउँदा साथ ग्याँस, पेट्रोल लगायत वस्तु गायब हुनु बजारको ‘गुणधर्म’ भएको छ।

बजार बदचलन हुनुमा अलिकति ‘बजारको नियम’ दोषी होला, अलि बढी वैश्य युगको चरित्र दोषी देखिन्छ र अझ बढी व्यक्ति स्वयं दोषी हो।

देश र काल अचेतन हुन्छन्, सचेत पक्ष व्यक्ति नै हो। व्यक्ति सचेत हुने हो भने बजार र युग रूपान्तरण गर्न सकिन्छ। तर वर्तमान समयमा व्यक्ति सचेत भइरहेको छैन। सचेत नभए पनि चलेको छ। त्यसैले सचेत हुने चेष्टा या झमेला गर्न कोही रुचाइरहेको छैन। जब सचेत नभए सर्वनाश हुने थिति आउँछ अनि बल्ल व्यक्ति सचेत हुन थाल्छ।

हरेक व्यक्ति सृष्टिको अभिन्न अङ्ग हो। सृष्टि द्वन्द्वात्मक छ। द्वन्द्वात्मक अर्थात् दुई पक्षबीच निरन्तर द्वन्द्वबाट गुज्रिरहेको स्थिति। व्यक्ति र समाजबीच द्वन्द्व छ, व्यक्ति स्वयंभित्र समेत निरन्तर द्वन्द्व चलिरहेको हुन्छ। विविधतायुक्त र गतिशील जीवनमा व्यक्तिले हरेक क्षणमा दुई या त्योभन्दा अधिक वस्तुबीच चुनाव गर्नुपर्ने हुन्छ। अधिकांश व्यक्तिको चयन ह्याविचुअल अर्थात् आदतवश हुन पुग्छ। यसैकारण दिनानुदिन समाज व्यवस्था बिथोलिंदै गइरहेको छ।

आफूलाई सर्वोत्कृष्ट प्राणी भन्न रुचाउने मानिसले विकसित गरेको समाज सुन्दर हुनु पर्ने हो। तर समाज त्यस्तो छैन। धनीलाई धनमाथि धन छ, गरीबलाई ऋणमाथि ऋण छ। गरीबलाई खाना, नाना र छाना चाहिएको छ तर सत्ता उन्मादमा उन्मत्त शासकहरू राष्ट«वाद, जातिवाद र धर्मवादका प्याकेट बाँड्छन्। छली, भ्रष्ट र अक्षम नेताजीको ढोका ढक्ढक्याउन प्राध्यापक, बुद्धिजीवी, वकील, पत्रकार, व्यवसायी र आम जनता भनिने बन्धुहरू सबै हाजिर भएका हुन्छन्। मानिसको सोचलाई के भएको हो?

उन्मादीहरू त उन्मत्त भए तर शान्त र समतायुक्त मानिसले समेत आशा लाग्दो केही गरेका छैनन्। दुष्टहरूको दुष्टताले समाज र सभ्यतालाई जति हानि पुगेको छ त्योभन्दा अधिक सज्जनहरूको निष्क्रियताले क्षति पुगेको छ। ईशापूर्व चौथो शताब्दीका पण्डित विष्णुगुप्त चाणक्यले निकम्मा सज्जनहरूको यसरी धज्जी उडाए। त्यस्ता सज्जनहरूलाई फ्रेडरिक नित्सेले ‘एग्जस्टेड चिकेन’ अर्थात् ओथारो बसेर थाकेका कुखुरा नाम दिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE