बिहिबार, मंसिर १८, २०७७
Thursday, December 3, 2020

ग्यासको कृत्रिम अभाव सृजना

व्यवसायीले ग्यासको कृत्रिम अभाव सृजना गरेपछि उपभोक्ता मारमा परेका छन्

व्यवसायीले ग्यासको कृत्रिम अभाव सृजना गरेपछि उपभोक्ता मारमा परेका छन्। ग्यासको अभाव नभए पनि कृत्रिम सृजना गरेपछि आफूहरूलाई समस्या भएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का रोशन झा बताउँछन्।

देशभर कोरोनाभाइरसको त्रास रहेको बेला जनकपुरधामका ग्यास व्यवसायीले बजारमा ग्यासको कृत्रिम अभाव सृजना गरेका छन्।

उनले भने, ‘ग्यास व्यवसायीहरूसँग ग्यास स्टकमा हुँदा हुँदै दिन मानिरहेका छैनन्।’ ग्यास अभाव देखाउनकै लागि ग्यास व्यवसायी पसल नै बन्न्द गरेर राखेका छन्।’

ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष अजय साहले जनकपुरधाममा कोरोना भाइरसको हल्ला फैलाएर अभाव सृजना गरिएको स्वीकार गरे।

बजारमा ग्यासको आपूर्ति सहज नै रहेको भन्दै अध्यक्ष साहले भने, ‘कोरोनाका कारण नाका बन्द हुन सक्ने डरका कारण व्यवसायीले ग्यास स्टक गर्न लागेका छन्, फलस्वरूप ग्यासको अभाव भइरहेको छ।’

नोबेल ग्यास उद्योग नक्टाझिझका प्रबन्धक मनोज श्रेष्ठले कोरोना भाइरसको हल्लाका कारण ग्यासको आपूर्तिमा कुनै प्रकारको कमी नआएको दाबी गरे।

उनले धनुषामा मागभन्दा बढी नै आपूर्ति भइरहेको प्रष्ट पारे।

उनले भने,‘बजारमा व्यापारीहरूका कारण मात्र नभई, उपभोक्ता समेत त्रसित भएर ग्यास सिलिण्डर घरमै स्टक गर्न थालेपछि अभाव देखिएको हो।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE