मङ्लबार, फाल्गुन १३, २०७६
Tuesday, February 25, 2020

यातायात व्यवस्था कार्यालय सर्‍यो

धनगढी साउन ९। यातायात व्यवस्था कार्यालय सेतीले नयाँ भवनबाट सेवा शुरु गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित क्षेत्रीय पशुस्वास्थ्य तालिम केन्द्रको छात्रावास तथा कर्मचारी आवास गृहमा सारिएको कार्यालयले मंगलबारदेखि सेवा शुरु गरेको जनाएको छ ।

यसअघि यातायात व्यवस्था कार्यालयले धनगढी वडा नम्बर ३ बोराडाँडीमा भाडाको घरमा कार्यालय राखेर सेवा दिइरहेको थियो । भाडाको घर सडकको छेउमा हुनु, जग्गा र कक्ष अभावका कारण कार्यालयले सेवालाई व्यवस्थित गर्न नसकेको कार्यालयका अञ्चल प्रमुख कृष्णप्रसाद भुषालले बताए ।

उनले यातायात व्यवस्था कार्यालयले निर्माण गरेको भवनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राखिएपछि तालिम केन्द्रको आवास गृहको भवन प्रयोग गर्नुपरेको बताए । उनले अब कार्यालय प्रदान गर्ने सेवा सहज र थप व्यवस्थित हुँदै जाने बताए ।

यसैबीच, यातायात व्यवस्था कार्यालय, सेतीले आर्थिक वर्ष २०७४र०७५ मा विभिन्न शीर्षकमा गरि ३७ करोड ३८ लाख ६७ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । सो कार्यालयले दिएको जानकारी अनुसार सवारी करतर्फ २४ करोड ९७ लाख तीन हजार तीन सय ५२ रुपैया संकलन भएको छ ।

त्यस्तै, सवारी इजाजत दस्तुरबाट आठ करोड ८९ लाख ५८ हजार छ सय ३३ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी दुई करोड ५१ लाख ६० हजार दुई सय ८९, सडक निर्माण तथा सम्भार दस्तुरबाट एक करोड सात हजार चार सय सात, विक्रीबाट ३५ हजार तीन सय २५ र कम्पनी रजिष्ट्रेशन महसुलबाट दुई हजार पाँच सय राजश्व संकलन भएको छ ।

यातायात व्यवस्था कार्यालय, सेतीले आर्थिक वर्ष २०७३/७४ मा ३१ करोड ६५ लाख ६७ हजार छ सय ३९, ०७२/७३ मा १९ करोड २३ लाख ८८ हजार पाँच सय ८४, ०७१/७२ मा १५ करोड ८५ लाख ८३ हजार चार सय ५२ रुपैयाँ राजश्व संकलन गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE